महेन्द्रनगर , कार्तिक १४ गते । कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ ।
“राष्ट्रिय गौरवको आयोजनामा समाहित हुनुअघि मूल नहर निर्माणको प्रगति कम थियो”, सिडीई पोखरेलले भने, “अहिले कैलालीको मालाखेतीसम्म १९ किलोमिटर मूल नहर निर्माण चारवटा प्याकेजमा भइरहेको छ ।” चार प्याकेजको मूल नहर निर्माणका लागि रु एक अर्ब ९७ करोडको ठेक्का सम्झौता गरिएको छ । करिब दुई वर्षअघि गरिएको ठेक्का सम्झौता समयमा नसकिने भएपछि चारवटै प्याकेजमा पहिलोपटक केही समयअघि म्याद थपसमेत गरिएको छ ।
करिब दुई वर्षअघि मालाखेतीसम्म चारवटा प्याकेजमा मूल नहर निर्माण भइरहेको छ । “मुआब्जा निर्धारणमा स्थानीयको असन्तुष्टि, जग्गाको समस्या र रुख कटानको अल्झनलगायतका कारणले कामले गति धेरै लिन सकेन”, उनले भने, “पछिल्लो समय आयोजनाका लागि बजेट अभावको समस्या भने छैन ।” आयोजनाअन्तर्गत महाकाली नदीमा पानी सिँचाइका लागि कैलालीको मालाखेती, कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनबस्ती, गुलरिया र दोधारा चाँदनी पुर्याइनेछ । त्यसका लागि कुल एक सय ५१ किलोमिटर नहर निर्माण गर्नुपर्ने हुन्छ ।
आयोजना कार्यालयले आगामी २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको जनाएको छ । कञ्चनपुरमा मात्रै कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर छ । त्यसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुन्छ । यहाँ २९ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने यहाँ किसानले अकासे पानीका भरमा पनि खेती गर्नुपर्ने बाध्यता विद्यमान छ ।
महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त र बेदकोट नगरपालिकाका साथै दक्षिण क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा पुगेको थियो ।रासस



