वीरगन्ज , असोज २७ गते ।
जेनजीको आन्दोलन पूर्व हैजा महामारी खेपेको पर्साको वीरगन्ज महानगरपालिका संक्रमणबाट तंग्रिन थालेपछि बल्ल हैजा बिरुद्धको खोप खुवाउन सुरु गरिएको छ । हैजा संक्रमित भई अस्पताल पुग्नेको संख्या शुन्यमा झरेको पछि पर्सामा हैजा विरुद्धको खाने खोप खुवाउन थालिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई खोप खुवाएर हैजा विरुद्धको खोप अभियान सुरुवात गरिएको छ । डेढ महिनाअघि हैजाको महामारी फैलिन थालेको वीरगन्ज महानगरसहित पर्साका १४ वटै पालिकामा आइतबारदेखि हैजा विरुद्धको खाने खोप अभियान चलाइएको जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । प्रमुख जिल्ला अधिकारी सुवेदीसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा.मनोज कुमार गुप्ता, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टलगायतले पनि खोप अभियानमा खोप खाएर अभियानलाई साथ दिएको अधिकृत ठाकुरको भनाइ छ ।
अझै पत्ता लागेन हैजा फैलिने श्रोत
हैजाको संक्रमण पहिलो पटक गएको भदौं ६ गते पुष्टि भएको थियो । ३ जनामा झाडापखाला भई हस्पिटल पु¥याउँदा त्यहाँ चिकित्सकले हैजाको संक्रमण पुष्टि गरेका थिए । त्यसयता असोज २३ सम्म वीरगन्जका विभिन्न अस्पताल कुल १ हजार ५ सय ६७ जना झाडापखालाका बिरामी उपचार गर्न पुगेकामा २ सय ४५ जनामा चाही हैजा (कोलेरा) को संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
कोलेराको जिवाणु फेला परेको डेढ महिना कटिसक्दा पनि के कारणले यो संक्रमण भयो भनी श्रोत कसैले पुष्टि गर्न नसकेको पनि जनस्वास्थ्य कार्यालय पर्साको भनाइ छ ।
नारायणीमा हैजाका शुन्य संक्रमित
झाडापखाला भई सबैभन्दा बढी बिरामी पुग्ने वीरगन्जको नारायणी अस्पतालमा अहिले एक जना पनि हैजाका बिरामी नभएको नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंहले बताए । झाडापखालाका बिरामीहरु त अहिले पनि दैनिकजसो चार पाँच जना उपचारका लागि आउँछन् । तर संक्रमण भने देखिएको छैन उनले भने । संक्रमणको श्रोत पत्ता नलागेकोले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको भन्न गाह्रो नसकिने र फेरि पनि हैजाको संक्रमण फैलिन सक्ने निश्कर्ष सहित विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सकृयतामा पर्सामा आईतबारदेखि हैजा विरुद्धको खोप अभियान संचालनमा आएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए ।
खोप अभियान कार्तिक २ गतेसम्म चल्ने
असोज २६ गते आईतबारबाट सुरुवात भएको यो खोप अभियान कात्तिक २ गतेसम्म चल्ने जनाइएको छ । अभियानमा जिल्ला भरका १ वर्ष माथिका ६ लाख ५५ हजार जनालाई हैजा विरुद्धको खोप खुवाउने लक्ष्य रहेको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । खोप अभियान अन्तर्गत पर्साका १४ वटै पालिका र पर्सासँग सीमा जोडिएको बाराका पनि ६ वटा पालिका गरी कुल १० लाख १८ हजार मानिसलाई खोप अभियानमा समेट्ने लक्ष्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रहेको पनि प्रमुख जिल्ला अधिकारी सुबेदीले बताए । पर्साका मात्र कुल ६ लाख ५५ हजार जनालाई लक्षित गरी खोप आफैबाट खाएर सुरुवात भएको पनि उनले राजधानी दैनिकलाई बताए ।
पर्सासँग सिमाना जोडिएकोे छिमेकी जिल्ला बारामा भने सोमबारबाट मात्र हैजाविरुद्धको खोप अभियान संचालन गर्ने पनि अभियानमा सहभागी विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले बताए । पर्साको वीरगन्ज महानगरसंग सीमा जाडिएका बाराको कलैया र जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाँउपालिका गरी ६ वटा पालिका पनि हैजा प्रभावित स्थानका रुपमा आँकलन गरिएको पाइएको छ ।– rajdhanidaily



