
रोशन कुमार महतो, बर्दिबास । महोत्तरीको बर्दिबासमा पहिलो पटक राष्ट्रिय विभूति सीता(जानकी)को उत्पत्ति दिवस एवं जयन्ती पूजापाठ तथा सांगीतिक कार्यक्रम गरि मनाइएको छ । हिन्दुधर्मालम्बीहरुले चन्दा संकलन गरेर बर्दिबास नगरपालिका वडा नम्बर –१४ स्थित कामेश्वरनाथ महादेव मन्दिर परिषरमा माता सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको स्थानीय देव कुमार महतोले जनाए ।
जय हनुमान आरधाना मण्डली तथा कामेश्वरनाथ महादेव मन्दिर समिति बर्दिबासले सयुक्त रुपमा माता जानकीको जन्मोत्सव कार्यक्रमको आयोजान गरेको हो ।
माता जानकीको जन्मोत्सव कार्यक्रममा प्रदेश सभा सदस्य सारदा देवी थापा, बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री, बर्दिबास नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बिजय कुमार महतो, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो, व्यवसायी सुरेश प्रसाद अग्रवाल, लगायतले जानकी जन्मोत्सवको अवसरमा शुभकामना मन्तब्य राखेका थिए । बक्ताहरुले सीता नेपालको राष्ट्रिय विभूति भएकोले जानकी(सीता)को जन्मजयन्तीमा राष्ट्रिय विदा दिनु पर्नेमा जोड दिएका थिए ।
मधेस प्रदेश सरकारले जानकी जन्मोत्सवको अवसरमा प्रदेशभरी सार्वजनिक विदा दिएको छ । सीतालाई सत्यवती,पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग सीताको विवाह भएको थियो ।
- त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको छ ।