
अमृत कुमार महतो, पशुपतिनगर । महोत्तरीको बर्दिबासदेखि १३ किलोमिटर तल भंगहा नगरपालिकाको सिमाना छेउको गाउँ पशुपतिनगर । ग्रामिण क्षेत्रको रुपमा रहेका पशुपतिनगर गाउँको बीचमै चिटिक्क रङरोगन गरेर सिँगारिएका आकर्षक भवन देखिन्छन् । भवन वरिपरि घेराबार लगाएर सुरक्षित गरिएको यो राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्ला हो । ग्रामिण क्षेत्रमा यत्ति चिटिक्क र हाराभरा भएको मधेसको सामुदायिक विद्यालय ठूला सहरका शैक्षिक संस्थाभन्दा ओजका छैनन् । विद्यालयको हाताभित्र पस्नासाथ जो कोहीको मन प्रफुलित र पुलकित भइहाल्छ ।
यसो हुन्को कारण हो विद्यालयको मनमोहन बालउद्यान, बगैचा र फराकिलो खेलमैदान । कक्षा कोठामा भइरहको डिप्लोमा तहको कम्प्युटको पढाईले त झनै मनलोभ्याउँछ । जहाँ शिशुकक्षादेखि कक्षा १२ सम्म ४ सय बालबालिकाहरु रमाई रमाई पढिहरेका छन् ।
२०७६ साल अघिसम्म विद्यालयको जीर्ण कक्षा कोठाको भवन, डेक्स–बेन्च, लथालिङ खानेपानी र शौचालयले विद्यालय अस्तव्यस्त नाजुक मात्रै थिएन, कक्षा ११ र १२ को पढाई नै बन्द भएको थियो । तर, अहिले विद्यालयमा बालबालिकाहरुको आकर्षण मात्रै बढेको छैन, विद्यालय भ्रमण गर्नेहरु पनि आउने गरेको बर्दिबास नगरपालिका वडा नम्बर ९ पशुपतिनगरका वडा अध्यक्ष घुरण महतोले बताउनुभयो ।
२०७७ सालमा जब जनसहयोगी युवा सञ्जाल विद्यालयमा प्रवेश ग¥यो, तब विद्यालयको मुहार नै फेरियो । तीन पुस्तामा नफेरिएको विद्यालयको मुहार १ वर्षमै फेरियो । उनीहरु जनश्रमदानबाट विद्यालयमा खेलमैदान, बालउद्यान, बगैचा, चौतारा, मन्च मात्रै बनाएनन् सामुदायिक विद्यालयको समस्या र सम्भावना बारे स्थानीय सरकार, अभिभावक र चन्दादाताहरुसंग अन्तक्रिया गरेका थिए । त्यहाँबाट प्रतिबद्धता लिएर काम सुरु गरेपछि विद्यालय नमुना बन्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार महतोले बताउनुभयो ।
अहिले पशुपतिनगरका किसान तथा मजदुरका छोरोछोरी आफ्नै घरको नुनरोटी खाएर गाउँको विद्यालयमा कम्प्युटर शिक्षा लिइरहेको छन् । २५ जना विद्यार्थीहरुले कम्प्युटर शिक्षामा भविष्य खोजिरहेका छन् । यो विद्यालय अरु छिमेकी गाउँका विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको विद्यालयका प्रधानाध्यापक बिरेन्द्र कुमार महतोले बताउनुभयो । प्रधानाध्यापक महतोले पछिल्लो पाँच वर्षमा विद्यालयले भौतिक संरचना र शैक्षिक गुणस्तरमा धेरै सुधार गरेको भन्नुभयो । उहाँले अहिले आफूहरूले समयानुसार प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन सुरु गरेको बताउनुभयो । उहाँले ८ वर्ष अगाडिसम्म विद्यालय भौतिक, शैक्षिक र अन्य प्राविधिक रूपमा कमजोर रहेको सुनाउँनुहुदैं अहिले अब्बल बन्न थालेको बताउनुभयो ।
‘आजभन्दा ८ वर्ष अगाडि विद्यालयको अवस्था निकै दयनीय थियो, कक्षाकोठा नपुग्दा बालबालिकालाई भुइँमै राखेर पढाउनुपथ्र्यो, पूर्वाधार जीर्ण थियो । विद्यालयमा घेराबार थिएन, असुरक्षित थियो,’ प्रधानाध्यापक महतोले भन्नुभयो, ‘अहिले विद्यालयमा धेरै भौतिक संरचना बनेका छन् । शैक्षिक गुणस्तर पनि राम्रो भएको छ ।’ विद्यालयले पूर्वाधारमा सम्पन्न हाँसिल गरेसंगै अब शैक्षिक गुणस्तर बढाउन योजनाबद्ध काम गर्ने योजना गरेको उहाँले बताउनुभयो ।
पहिले ४० प्रतिशत मात्रै शैक्षिक प्रगति गरेको विद्यालयले अहिले ८० प्रतिशत बढी उपलब्धि हासिल गर्न थालेको छ । पहिले तीनसय विद्यार्थी हुने गरेकामा अहिले करिब ४ सय विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयप्रति समुदाय र अभिभावकको भरोसा बढेपछि विद्यार्थीको आकर्षण बढेको प्रधानाध्याप महतोको भनाई छ ।
जनसहयोगी युवा सञ्जाल बर्दिबासका अध्यक्ष परमेश्वर महतोले यो विद्यालय गाउँमा रहेर पनि छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । सञ्जालले शिक्षा क्षेत्रमा लगानी गरेको जनाउँदै लगानीअनुसार बनरझुल्ला माविले प्रतिफल दिन थालेको उहाँको भनाइ छ । अध्यक्ष महतोले कोरोना महामारीको बेला बर्दिवासका युवाहरु शिक्षालाई प्राथमिकतामा राखेर बनरझुल्ला माविमा मुठीदान अभियान सञ्चाल गरेर बालबालिकाका लागि रमणिय चिल्ड्रेन पार्क निर्माण गरको थियो । अहिले पनि विद्यालयमा सञ्जालले थुप्रै काम गर्नुपर्ने बाँकी रहेको छ । बर्दिवास नगरपालिकाभित्र रहेका धेरै विद्यालयमा सुधारका लागि काम भइरहेको बताउनुभयो ।
‘पशुपतिनगर गाउँ पुर्व–पश्चिम राजमार्गदेखी दक्षिणमा १३ किलो मिटर टाढा छ । यहाँ विकास गर्न त्यत्ति सहज थिएन, तर पनि स्थानीय र सञ्जालको निरन्तरको प्रयासले सफल भयौँ,’ उहाँले भन्नुभयो, ‘अहिले एउटा चरणमा पुग्यो, विद्यार्थीको चाप पनि राम्रो छ, गुणस्तरलाई बढाउनतर्फ जोड दिएका छौँ ।’
कक्षा १२ सम्म पढाइ हुने यो विद्यालय २०३० मा स्थापना भएको थियो । यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि विद्यार्थीहरु बर्दिबास पुग्नुपर्ने बाध्यता थियो । अहिले कक्षा १२ सम्मको अध्ययनअध्यापन भइरहेको छ