
बर्दिवास । विद्यालयको वेथितीको विषयमा समाचार सम्प्रेषण गरेको भन्दै एक विद्यालयका प्रधानाध्यापकले पत्रकार राजकरण महतोलाई दुर्व्यवहार गरेका छन् । महोत्तरीको बर्दिवास नगरपालिका-१३ स्थिथ रहेको जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुराका प्रधानाध्यापक भरतप्रसाद यादवले शुक्रवार पत्रकार महतोलाई दुर्व्यवहार गरेका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका पत्रकार महतोले शुक्रवार मात्रै विद्यालय समयमा उक्त विद्यालयको मुल गेटमै ताल्चा लागेको र शिक्षक तथा विद्यार्थीहरु विद्यालय बाहिरै उभिएको सन्दर्भमा एक भिडियो द पब्लिक टुडेको पेजमा पोस्ट्याएका छन् ।
विद्यालय खुलेपछि सूचना लिन विद्यालय पुगेका पत्रकार महतोलाई सोही भिडियोको निहुँमा प्रधानाध्यापक यादवले हप्काउँदै दुर्व्यवहार गरेका छन् ।
पत्रकार महतोले एक महिनाअघि विद्यालयको विभिन्न शीर्षकमा सूचना माग गरेका थिए । सोही सूचनाको विषयमा बुझ्न उनी शुक्रवार विद्यालय पुगेर प्रधानाध्यापक यादवसँग समय मागेका थिए । ‘म विद्यालय पुगेर प्रअसँग समय मागेको थिएँ । उहाँ(प्रधानाध्यापक)ले हाम्रो मिटिङ चल्दैछ, एकछिन बाहिर बस्दै गर्नु भनेर भन्नुभयो । दुईघण्टा बाहिर बस्दा पनि कसैले बोलाउनुभएन । त्यसपछि फेरी विद्यालयमा पुग्दा प्रअले हप्काउँदै ममाथि दुव्र्यवहार गर्नुभयो । त्यतिबेला मिटिङ सकिसकेको थियो,’ घटनाक्रमबारे जानकारी दिँदै पत्रकार महतोले भने ।
प्रधानाध्यापक यादवले पत्रकार महतोलाई हप्काउँदै भनेका रहेछन्– ‘तिमी स्कुलको घातक हौ । तिमीसँग केही कुरा गर्नु छैन ।’
त्यसअघि शिक्षक तथा कर्मचारीहरुको बैठकले पत्रकार महतो पत्रकारिताको छायामुनी व्यक्तिगत इश्र्या, पूर्वाग्रही तथा दलिलतापूर्ण कार्य गरेकोजस्ता आरोप लगाउँदै अपमानित भएर कक्षा शिक्षणमा तत्परता देखाउन असमर्थ रहेको निर्णय गरेका छन् ।
द पब्लिक टुडे डटकमका सम्पादक समेत रहेका पत्रकार महतो निरन्तर विद्यालयको बेथिती, शिक्षण सुधारका विषयमा भिडियोलगायतका समाचारहरु प्रकाशन तथा प्रसारण गर्दै आएका छन् ।
सोही समाचारहरुको झोकमा विद्यालयको अवस्था सुधार गर्नुको साटो पत्रकारमाथि दुव्र्यवहार गर्न उत्रिनु लज्जास्पद रहेको प्रेस चौतारी महोत्तरीका सचिव अमृत कुमार महतो बताउँछन् ।