
महोत्तरी । शैक्षिक सहरको रुपमा विकास हुँदै गएको महोत्तरीको बर्दिबासमा अन्तर विद्यालयको सिकाई, सिर्जाना र अनुभव आदान प्रदानका लागि शैक्षिक महोत्सव सुरु भएको छ । बर्दिबास नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको सहयोग तथा सबैका लागि हामी नामक स्थानीय सामाजिक संस्थाले शैक्षिक महोत्सवको पहिलो संस्करण सुरु गरेको हो ।
शैक्षिक महोत्सवको बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्रीले गमलामा पानी सिँचित गरेर उद्घाटन गर्नुभएको छ । फागुन ११ र १२ गतेसम्म बर्दिवासस्थित देउराली माध्यमिक विद्यालयमा शैक्षिक महोत्सव संचालन हुने सबैका लागि हामी संस्थाका अध्यक्ष रवि निरौलाले जानकारी दिनुभयो ।
विद्यार्थीहरुमा पढाईलेखाइका साथै अतिरिक्त शैक्षिक क्रियाकलापमा उत्साह जगाउने उद्देश्यले महोत्वस आयोजन गरिएको छ । महोत्सवमा ४ दर्जन नीजि तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ । विद्यालयले आफ्ना स्टलहरु राखेर विद्यार्थीहरुले निर्माण गरेर विभिन्न विद्युतीय उपकरण, चित्रकला, हस्तकला लगायतका समाग्रीहरुको बृहत् शैक्षिक प्रदर्शन गरिएको बर्दिबास नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रेवती पराजुलीले बताउनुभयो ।
महोत्सवमा बिद्यालयहरुले पाँच विधामा शैक्षिक प्रदर्शनको स्टल राखेका छन् । संस्कृतिक नृत्य प्रतियोगिता, बक्ततृत्वकला प्रतियोगिता, खुल्ला चित्रकला प्रतियोगिता, गायन प्रतियोगिता र भेषभुषा प्रदर्शनी प्रतियोगिता गरी पाँच वटा विधामा शैक्षिक प्रदर्शनी राखेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री शैक्षिक महोत्सवले अन्तरविद्यालयहरुका बालबालिकाको प्रतिभा, सिकाई र सिर्जनात्माक अभ्यान आदानप्रदानमा सहयोग पुगर्ने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई समाजिक एकीकरण गर्न महोत्सवले निकै टेवा पुर्याउनेमा विश्वास व्यक्त गर्नु भयो ।