
अमृत कुमार महतो÷रोशन कुमार महतो, बर्दिबास । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुअघि महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगर आएका बेला त्यहाँ पानीको समस्या बुझेपछि लक्ष्मी महतोले महाभारत सम्झिदैं भनेका थिए ‘यो क्षेत्र खण्ड प्रस्थ हो, म सांसद् भएपछि इन्द्र प्रस्थ बनाउँछु ।’ शनिवार महोत्तरीको भंगहा नगरपालिका–४ प्रेमनगरमा डिप बोरिङको शिलान्यास गर्दा महोत्तरी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महतोले त्यही वाचा स्मरण गर्दै भने, ‘इन्द्र प्रस्थ बनाउँछु भनेको थिएँ नि !’
७५ लाखको लागत निर्माण हुन लागेको उक्त बोरिङबाट यहाँका ६० बिगहा जग्गाका किसानहरु प्रत्यक्षरुपमा लाभान्वित हुने दावी गरिएको छ । जनतालाई आफूले गरेको बाचाबाट एक कदम पनि पछाडी नहटने विश्वास दिलाउँदै प्रतिनिधिसभा सदस्य महतोले भने, ‘यस्ता डिप बोरिङ निर्माणको आयोजाना महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्वर ५ टुटेश्वरमा दुई वटा, वडा नम्वर ९ मा एक वटा, वडा नम्वर ७ मा एक वटा, वडा नम्वर ६ मा एक वटा, वडा नम्वर १२ मा एक वटा र वडा नम्वर १३ मा एक वटा छ ।’
यस्तै भंगहा नगरपलिकाको वडा नम्वर ४ मा दुई वटा र वडा नम्वर ५ मा एक वटा रहेको उनले बताए । उनले बर्दिबास र भंगहा नगरपालिकामा ७ करोड ५० लाख बराबरको १० वटा डिप बोरिङको आयोजना रहेको उल्लेख गरे ।
“आउने बर्षमा पंजाब जस्तो बिकास हुन्छ । पंजावमा जसरी खेत–खेतमा सिचाइ र विधुतिकरण छ, त्यस्तै महोत्तरीको क्षेत्र नम्वर १ मा हुन्छ,” महतोले भने ‘अब खेती गर्नका लागि यहाँका जनताले इनार र आकाशे पानीमा निर्भर हुनुपर्दैन । अगाामी वर्ष यो क्षेत्रमा थप २५ वटा बोरिङ ल्याउने योजनामा छु ।’
महोत्तरी क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद लक्ष्मी महतोको सिफारिसमा संघीय अनुदानले यस क्षेत्रको बर्दिबास र भंगहा नगरपालिकामा डिप बोरिङ निर्माण गर्न लागेको भंगहा नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष गणेश प्रसाद महतोले बताए ।
सिँचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको अवस्थामा गाउँमा डिप बोरिङ शिलान्यास भएपछि स्थानीयहरुमा खुसीको सीमा छैन । पहिले सिँचाइका लागि इनार र आकासे पानीको भर पर्नुपर्ने यस क्षेत्रका किसानहरू अहिले सिँचाइ सुविधा खेतमै आइपुग्न लागेपछि हर्षित भएका हुन् ।
मधेश प्रदेश सभा सदस्य शारदा देवी थापाले इनारकोे सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पु¥याएर कृषिको उत्पादकत्व बढाउन र योगदान पु¥याउन नेकपा एमाले सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको सुनाइन् ।
बोरिङ सञ्चालनसँगै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले किसानलाई व्यावसायिक नगदे बाली तथा तरकारी खेतीको तयारी गर्नसमेत उनले आग्रह गरिन् ।
पानी अभावकै कारण बाँझो जमिन राख्नुपर्ने समस्या भएपनि अहिले भने थप सहयोग पुग्ने स्थानीय नेता तथा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य भिम बहादुर आलेले बताए । डिप बोरिङ सञ्चालन आउनासाथ यस क्षेत्रका कृषि क्षेत्रमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ ।
आयोजनाले किसानलाई सामूहिक रूपमा सुविधा उपलब्ध गराउने भएकाले किसानको सहकार्य बलियो हुने देखिएको छ । डिप बोरिङ निर्माण भए लगतै यस क्षेत्रमा सिँचाइका लागि सहज हुने भएकाले कृषि उत्पादनमा २० प्रतिशतले बढोत्तरी हुने विश्वास रहेको बर्दिबास नगरपालिका–५ का वडाध्यक्ष काहारमान स्याङ्गवाले बताए ।
प्रतिनिधिसभा सदस्य महतोले शनिवारै बर्दिबास नगरपालिका वडा नं १३ बिजलपुराको लामा टोलमा पनि डिप बोरिङको शिलान्यास गरेका छन् । यसले ६० बिग्हा भन्दा बढी सिचाइ हुने लालि गुरास डिप बोर्डिङ उपभोक्ता समितिका अध्यक्ष किसानी महतोले बताए । डिप बोरिङ जडानको लागि स्थानीय रत्न महतोले १० धुर जग्गा दान दिएका हुन् ।