
अमृत कुमार महतो, महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी महोत्तरीसहित देशका राजधानी काठमाण्डौ बजारसम्म पुग्ने गरेको छ ।
यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुन्, बर्दिबास नगरपालिका–९, पशुपतिनगरस्थित श्री चाँदनी बहुउद्देश्य कृषि तथा पशुपालन कृषि फर्मका संचालक ४० बर्षका संजय कुमार महतो । उनका अनुसार टमाटर खेतीबाट बर्सेनि चारदेखि पाँच लाखसम्म आम्दानी भइरहेको छ ।
राजनीतिबाट समाजसेवा गर्दै आएका महतोले टमाटर खेती गर्नकै लागि राजनीति छाडेको बताए । “सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए”, उनले भने, “माओवादीको जनयुद्धकालदेखि राजनीतिमा बिताएपछि कृषिकर्ममा लागेको हुँ ।”
महतोले अहिले पाँच कठामा टमाटर खेती गरिरहेका छन् । इन्डो अमेरिकन जातकोे टमाटर रोपेको उनले बताए । मंसिरमा रोपेको टमाटर फाल्गुन अन्तिम तिर टिप्न मिल्ने बताए । “पहिला अरु तरकारी खेती गरेका थिए,” उनले भने, “उमेर ढल्कियो छोराछोरी खेतमा काम गर्न मान्दैनन् । आफैँले पाँच कठामा लगाएको छु । छ महिनामा चार लाखदेखि पाँच लाखको टमाटर आरामले बेच्छु ।”
राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उनी बताउछन् । अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उनको अनुभव छ । “किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो”, महतोले भने, “मैले खेती सुरु गरेको ५ वर्ष भयो, पहिला बुवाले धान,मकै र कोदो खेती गरेको थियो टमाटर खेतीले खेर गएर डुब्यो भन्नुपरेको छैन ।” गएको साल उनले प्रतिक्यारेट तीन सयदेखि एक हजार दुई सयसम्म टमाटर बिक्री गर्दै आएका छन् । टमाटर एक वर्षमा छ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान, मकै तथा काउली खेती गर्ने गरेको उनले जानकारी दिए । यसरी गरिने फरक–फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उनको भनाइ छ ।
“पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ”, महतोले भने, “कहिले व्यापारी खेतमै आँउछन् । कहिले बजारसम्म लैजाने गरेको छु ।” टमाटर खेतीबाटै कृषि फर्मसमेत संचालन गरेकोे उनले सुनाए ।
यस्तै बर्दिवास नगरपालिका –१२, बिजलपुराका राम प्रमोद मंडलले टमाटर खेतीबाट मनग्य आम्दानी गरेको बताए । अहिले टमाटर एक हजार आठ सय क्यारेटसम्म बेच्न पाएको र उत्पादन समयको किसानले ख्याल गर्नुपर्ने उनको भनाइ छ ।
खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उनको बुझाइ छ । प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभइ मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उनले दाबी गरे ।
तीन वर्ष वैदेशिक रोजगारीको क्रममा कतारमा बसेर टमाटर खेतीबाट घरमै परिवारसँग बसेर चार लाखदेखि पाँच लाखसम्म वर्षमा आम्दानी गर्ने गरेको बताए । उनले आफ्नो छौ कठा खेतमा इन्डो अमेरिकन जातको टमाटर लगाएका छन् ।
उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने, किसान मारमा परेको उनीहरूको भनाइ छ । राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको सोमबार धनुषाको बडहरी बजारमा टमाटर बिक्रीका लागि आएकी शिव कुमारीले गुनासो गरिन् ।
“आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री भइ हाल्छ”, उनले भनिन् । महोत्तरीको पशुपतिनगर, बिजलपुरा, किसाननगर र धनुषाको दिगम्वरपुर, इच्छापुरलगायत गाउँमा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको सिरहा जिल्लाका कृषि थोक बजारका व्यापारी दिपु साहले बताए ।