काठमाडौं, पुस १९ गते । नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट संगठनको मूलधारसम्म निरन्तर संघर्ष गर्दै आएकी महोत्तरीको बलवा नगरपालिकाकी ममता महतो प्रतिनिधि सभा समानुपातिक बन्दसूचीमा अटाउन नसकेपछि पार्टीभित्र ‘नेतृत्वको गोजिको राजनीति’ फेरि बहसको विषय बनेको छ।
बाल्यकालदेखि नेपाली कांग्रेसको आदर्श, मूल्य–मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिमा होमिएकी महतो विगत १८ वर्षदेखि पार्टी संगठन सुदृढीकरण, विस्तार र आन्दोलनमा निरन्तर खटिँदै आएकी छन्। उनी आफूलाई ‘कांग्रेसकी इमानदार नारी सिपाही’ का रूपमा चिनाउँछिन्।
स्ववियु निर्वाचनका लागि पार्टीले केन्द्रीय प्रतिनिधि खटाएको बेला कर्तव्य पालनाकै क्रममा उनी गम्भीर दुर्घटनामा परिन्। उक्त दुर्घटनाबाट ठूलो शारीरिक क्षति बेहोरेकी महतो डेढ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न नसकेको बताउँछिन्। ‘पार्टीको जिम्मेवारी पूरा गर्ने क्रममा दुर्घटनामा परेँ, तर योगदानको कदर भएन,’ उनको पीडा छ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उपमेयर पदका लागि प्रतिस्पर्धा गर्ने अवसर हुँदाहुँदै नेताको आग्रहमा पछि हटेकी महतो २०७९ मा पनि क्षेत्रीय सिफारिस हुँदाहुँदै अन्तिम चरणमा टिकटबाट वञ्चित भइन्। प्रदेश कार्यालयले समय अभाव देखाउँदै खाली टिकट जिल्लामा पठाएपछि उनको स्थानमा अर्कै व्यक्तिको मनोनयन भएको उनी बताउँछिन्।
भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ पछि संसद् विघटन भई फागुन २१ का लागि प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि पार्टी परिपत्रअनुसार उम्मेदवार सिफारिस प्रक्रिया अघि बढेको थियो।
प्रदेश तहबाट ममता महतोको नाम सिफारिस भई केन्द्रीय छलफलसम्म पुगे पनि अन्ततः प्रदेश नेताहरूको ‘कोटा सूची’ मा नाम नपरेपछि निर्वाचन आयोगसम्म उनको नाम पुग्न सकेन।
पार्टी कार्यसम्पादन समितिले ‘२०६४, २०७०, २०७४ र २०७९ सालमा समानुपातिकबाट प्रतिनिधि सभा वा प्रदेश सभामा पुगिसकेकालाई पुनः बन्दसूचीमा नराख्ने’ निर्णय गरेको भए पनि व्यवहारमा भने सिफारिसको ढाँचा नबद्लिएको उनी आरोप लगाउँछिन्।
‘नेताले गोजिबाट आफ्ना मान्छे निकाल्ने प्रवृत्ति अन्त्य नभएसम्म बलवा जस्ता गाउँ–नगरका त्यागी कार्यकर्ताको नाम बन्दसूचीमै हराइरहन्छ,’ महतोको भनाइ छ।
यद्यपि, अन्तिम सूचीमा नाम नपरे पनि नेपाली कांग्रेस मधेश प्रदेशले लोकतन्त्र, राष्ट्रियता र समाजवादको मूल मर्मअनुसार निष्पक्ष सिफारिस गरेको भन्दै उनले पार्टीप्रति विश्वास कायमै रहेको उल्लेख गरेकी छन्।
‘म कांग्रेसको नीति, सिद्धान्त र मूल्य–मान्यतामा अडिग छु,’ उनी भन्छिन्, ‘न्याय नपाए पनि पार्टी छाड्ने सोच कहिल्यै बनाइनँ।’



