बर्दिबास, पुस १३ गते । महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुराकी बुहारी प्रियंका महतोले जनस्वास्थ्य क्षेत्रमा अर्को उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्। पेशाले दृष्टि विशेषज्ञ रहेकी महतोले पेशागत सेवा सँगसँगै अध्ययनलाई निरन्तरता दिँदै जनस्वास्थ्य विषयमा स्नातकोत्तर (एमपीएच) उपाधि सफलतापूर्वक उत्तीर्ण गरेकी हुन्।
दृष्टि स्वास्थ्य सेवामा सक्रिय रहँदै उनले व्यावसायिक जिम्मेवारी, पारिवारिक दायित्व र अध्ययनबीच सन्तुलन कायम गरेर यो सफलता प्राप्त गरेकी छन्। उनको उपलब्धिलाई लगनशीलता, निरन्तर परिश्रम र आत्मअनुशासनको उदाहरणका रूपमा हेरिएको छ।
स्नातकोत्तर अध्ययनपछि प्रियंका महतोले आफ्नो ज्ञान र अनुभव जनस्वास्थ्य सेवामै समर्पण गर्ने स्पष्ट लक्ष्य राखेकी छन्। समुदायस्तरमा स्वास्थ्य चेतना अभिवृद्धि, रोग रोकथाम, प्राथमिक स्वास्थ्य सेवाको पहुँच विस्तार तथा जनस्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्याउने उनको योजना रहेको छ।
बिजलपुरा क्षेत्रमा बुहारीको यस शैक्षिक सफलतालाई गौरवका रूपमा लिइएको छ। स्थानीयवासीहरूका अनुसार शिक्षित, सक्षम र सेवामुखी महिलाले परिवार मात्र होइन, सम्पूर्ण समाजलाई सकारात्मक दिशातर्फ डोर्याउन सक्छन् भन्ने उदाहरण प्रियंका महतोले प्रस्तुत गरेकी छन्।
उनको सफलताले परिवारमा मात्र होइन, गाउँ–समुदायमै खुसीको वातावरण सिर्जना गरेको छ। परिवारजनले प्रियंकाको उपलब्धिले बिजलपुराको सामाजिक प्रतिष्ठा अझ उचालिएको भन्दै सन्तोष व्यक्त गरेका छन्।
किसान परिवारको माटोबाट संघर्ष गर्दै अघि बढेकी प्रियंका महतोका पिता स्वयं शिक्षाको महत्व बुझ्ने व्यक्ति हुन्। छोरी उच्च शिक्षासम्म पुग्नुपर्छ भन्ने सोचका कारण उनले कहिल्यै अध्ययनमा अवरोध गर्न दिएनन्। यही पारिवारिक समर्थन र निरन्तर संघर्षकै परिणामस्वरूप प्रियंका महतो आज दृष्टि स्वास्थ्यदेखि जनस्वास्थ्यसम्मको यात्रामा एक सफल उदाहरण बनेकी छन्।



