अरुण साह
बर्दिवास पुष ११ गते । मानवता र सामाजिक उत्तरदायित्वको भावना बोकेर महोत्तरी चेम्बर अफ कमर्सले इलाका प्रहरी कार्यालय बर्दिबासमा रहेका बन्दीहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै विद्युतीय पानी डिस्पेन्सर सहयोगस्वरूप प्रदान गरेको छ।
उक्त पानी डिस्पेन्सर महोत्तरी चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डिएसपी विकास बामलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। जाडोको मौसममा स्वच्छ तथा तातो पिउने पानीको सहज उपलब्धता सुनिश्चित गर्ने मानवीय उद्देश्यले उक्त सहयोग प्रदान गरिएको चेम्बरले जनाएको छ।
सहयोग सामग्री ग्रहण गर्दै डिएसपी विकास बामले महोत्तरी चेम्बर अफ कमर्सप्रति आभार व्यक्त गर्दै, यस किसिमका समाजसेवी तथा मानवतामूलक कार्यहरूले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो।
कार्यक्रममा महोत्तरी चेम्बर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। चेम्बरले आगामी दिनहरूमा पनि बन्दीहरूको हित, मानवता र समाजसेवाका क्षेत्रमा यस्ता कार्यहरू निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
यस सहयोगले बन्दीहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै निजी क्षेत्र र सुरक्षानिकायबीचको आपसी सहकार्यलाई थप सुदृढ बनाएको छ।



