बर्दिबास, पुस ११ गते । महोत्तरीको बर्दिबास नगरपालिका–१३, बिजलपुराका किसान परिवारमा जन्मिएका बिरेन्द्र सिंहले निरन्तर मेहनत, अनुशासन र आत्मविश्वासका बलमा एकपछि अर्को सफलता हासिल गर्दै प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन्।
सिंहले पहिलो प्रयासमै निजामती सेवा परीक्षा उत्तीर्ण गरी नेपाल बैंक लिमिटेडमा लेभल–४ मा नाम निकाल्न सफल भएका थिए। त्यसपछि २०७९ सालमा नेपाल सेनामा लेखा अधिकृत (लेफ्टिनेन्ट) पदमा चयन हुँदै आफ्नो क्षमताको थप पुष्टि गरे। हाल उनी वरिष्ठ लेखा अधिकृत (क्याप्टेन) पदमा पदोन्नति भई नेपाल सेना मुख्यालय, काठमाडौंमा कार्यरत छन्।
पेशागत जिम्मेवारीसँगै अध्ययनलाई निरन्तरता दिँदै सिंहले हालै त्रिभुवन विश्वविद्यालयबाट वित्त विषयमा स्नातकोत्तर (एमबीएस) अध्ययन पूरा गरेका छन्। अध्ययनप्रतिको उनको यात्रा यहाँसम्म सीमित छैन। हाल उनी एलएलबी अध्ययनरत छन् भने पीएचडी तथा उपसचिव परीक्षाको तयारीसमेत गरिरहेका छन्।
निरन्तर संघर्ष, अनुशासन र आजीवन अध्ययनप्रतिको प्रतिबद्धताका कारण बिरेन्द्र सिंह आज धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। उनका उपलब्धिले ग्रामीण परिवेशबाट पनि कडा मेहनत र दृढ इच्छाशक्तिले उच्च लक्ष्य हासिल गर्न सकिने सशक्त सन्देश दिएको छ।



