https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/
  • अरुण साह

वर्दिवास मंसिर २६ गते ।मानिसहरू भन्छन्– ‘छोरी त पराइ घरको नासो हो ।’ तर, जब त्यो ‘नासो’ ले सुरक्षित आश्रय पाउँदिनन् र सात महिनाको अवोध गर्भसँगै सास त्याग्न विवश हुन्छिन्, तब समाजको निष्ठुरी अनुहार उदांगो हुन्छ। धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यस्तै एउटा हृदयविदारक घटनाले मानवीय संवेदनालाई झस्काएको छ। पेटमा सात महिनाको हुर्कँदै गरेको शिशु र आँखामा भविष्यका अनेक सपना सँगालेकी अंशु महतोको जीवनलीला रहस्यमय ढंगले समाप्त भएको छ।

क्षिरेश्वरनाथ नगरपालिका–९ माइती भएकी अंशुको ‘शंकास्पद मृत्यु’ ले यतिखेर दुई परिवारबीचको सम्बन्ध मात्र होइन, सिंगो समाजको चेतनामाथि प्रश्नचिह्न खडा गरेको छ।

घटनाको प्रकृति जति दर्दनाक छ, त्यसभन्दा बढी शंकास्पद छ– ससुराली पक्षको भूमिका। “दिउँसै घटना घट्छ, छोरीको सास जान्छ, तर हामीलाई साँझ ६ बजे मात्र किन खबर गरिन्छ?” अंशुका वृद्ध बुबा–आमाको यो प्रश्नले चित्रपुरको आकाश गुञ्जिएको छ।

माइती पक्षको आरोप छ– यो केवल मृत्यु होइन, यो एक सुनियोजित हत्या हो। उज्यालो घाममा भएको घटनालाई लुकाएर, प्रमाणहरू नष्ट गर्ने प्रपञ्च रचेपछि मात्र साँझपख खबर गरिनुले दालमा केही कालो मात्र होइन, पूरै दाल कालो रहेको संकेत गरेको पीडित परिवारको दाबी छ।

‘शिक्षित’ श्रीमान् र असुरक्षित बुहारी

नियतिको व्यङ्ग्य कति क्रूर हुन्छ ! दुई वर्षअघि सामाजिक परम्परा अनुसार बाजागाजासहित अंशुको डोली अन्माउँदा माइती पक्षले सोचेका थिए– छोरी ‘राम्रो’ र ‘बुझेको’ घरमा जाँदैछिन्। अंशुका श्रीमान् शिव कुमार महतो सामान्य व्यक्ति होइनन्, उनी स्वास्थ्य क्षेत्र (बी फार्मेसी) का विद्यार्थी हुन्।

औषधि र उपचार पढेर अरूको जीवन बचाउने शिक्षा लिइरहेका श्रीमान्‌कै घरभित्र श्रीमतीको यो हविगत हुनुले ‘शिक्षा’ र ‘संवेदना’ बीचको खाडललाई गिज्याइरहेको छ। एउटा शिक्षित परिवारभित्रै बुहारी असुरक्षित हुनु र सात महिनाको गर्भ तुहिनुले “पढेलेखेकाहरू नै क्रूर हुन्छन्” भन्ने भाष्यलाई बल पुर्‍याएको भन्दै माइती पक्ष आक्रोशित बनेको छ।

अंशुको निष्प्राण शरीरले अहिले न्याय खोजिरहेको छ। माइती पक्षले आँसु पुछ्दै भनेका छन्, “हामीलाई न्याय चाहिन्छ। यो आत्महत्या होइन, हत्या हो। हाम्री छोरी र उसको गर्भमा रहेको शिशुका हत्यारा कुनै पनि हालतमा उम्कन पाउँदैनन्।”

प्रहरी प्रशासनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कठघरामा उभ्याउनुपर्ने माग पीडित परिवारको छ। चित्रपुरमा अस्ताएको अंशुको जीवनदीपले अब न्यायको उज्यालो पाउँछ वा रहस्यको गर्भमै विलिन हुन्छ ? यो प्रश्न अहिले धनुषावासीको मनमा उब्जिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार