धनुषा, मंसिर १८ गते । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त गर्ने समयसीमा नजिकिँदै दलहरूले दौडधूप तीव्र पारेका छन्। विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री सरोजकुमार यादवले हिजो पदबाट राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाले अझै गति लिएको हो।
प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। दाबी पेश गर्नका लागि भोलि शुक्रबार अपराह्न ५ बजेसम्मको समय तोकिएको छ।
प्रदेश प्रमुखको आह्वानपछि कांग्रेससहित सात दल नयाँ सरकार गठनका लागि सक्रिय छन्। सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने दाबी गर्दै संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ। कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झालका अनुसार दलका नेता यादवलाई नै अन्य दलसँग वार्ता र समन्वयको जिम्मेवारी दिएको छ।
यता लोसपाले पनि मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेको छ। लोसपाका सांसद उपेन्द्र महतोका अनुसार, यसअघि जितेन्द्र सोनलको नेतृत्वमा बनेको सरकार छोटो समय टिकेकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नुपर्ने पार्टीको अडान छ।
भोलि नयाँ मुख्यमन्त्री चयन भएपछि मधेश प्रदेशले तीन वर्षमा पाँचौँ मुख्यमन्त्री पाउनेछ। २०७९ सालको निर्वाचनपछिका ३६ महिनामा प्रदेशमा चार मुख्यमन्त्रीले पद छाडिसकेका छन्। जेनजी आन्दोलनपछि पनि दलहरू आन्तरिक विवादबाट मुक्त नभएकै कारण तीन महिनाभित्र तीन–तीन जना मुख्यमन्त्री बदलिनु राजनीतिक अस्थिरताको उदाहरण रहेको विश्लेषकहरू बताउँछन्।
एमालेका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामासँगै मधेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो।



