काठमाडौँ, मंसिर १६ गते । मधेस प्रदेश सभा सदस्य शारदा थापाले महोत्तरी क्षेत्र नम्बर १ मा एमाले महाधिवेशन प्रतिनिधि छनोटको लागि भएको पार्टीको आन्तरिक चुनाव हारेकी छन्।
आज बिहान सकिएको मत गणनाको परिणामअनुसार थापाको प्यानल नै निर्वाचनमा पराजित भएको हो। यहाँ सहमतीमा प्रतिनिधि छनोट हुन नसक्दा सोमबार मतदान भएको थियो।
उनलाई पराजित गर्दै शंकर महतो नेतृत्वको प्यान नै निर्वाचत भएको निर्वाचन समितिले जनाएको छ। महतोको प्यान केन्द्रका अध्यक्ष केपी ओली निकट मानिन्छ भने प्रदेश सभा सदस्य थापा ईश्वर पोखरेल निकटको रुपमा चिनिन्छिन्।
शंकर महतोको प्यानलबाट बिराट विस्ट, गुञ्ज खड्का, अरुण सिंह, कारमान स्याङ्वा, कुमार घिमिरे खुलाबाट निर्वाचित भएका छन्। खुलातर्फको ६ सिटमा १८ जनाबीच प्रतिस्पर्धा भएको थियो।
महतो प्यानलबाटै महिलाबाट बिन्दुकुमारी किङरिङ, सरस्वती चौधरी र सम्झना शर्मा पौडेल विजयी भएका छन्। ३ जना महिला प्रतिनिधि छनोटको लागि भएको निर्वाचनमा ५ जनाबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचनमा ८९६ मत खसेको थियो। जसमा सांसद थापाले ३३७ मत मात्रै प्राप्त गरेकी छन्। थापालाई पराजित गर्दै ३४० ल्याएर सरस्वती चौधरी महिला कोटामा महाधिवेन प्रतिनिधि छनोट भएकी हुन्।
युवाबाट रवि पोखरेल सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका छन्।
महाधिवेशनमा प्यानलसहित विजयी हुने महतो पूर्व माओवादी नेता हुन् भने थापा एमालेकी पुरानो नेताको रूपमा चिनिन्छिन्।
महतो ०७९ सालको प्रतिनिधिसभा सभा निर्वाचनअघि माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए। उनले माओवादी त्यागेपछि महोत्तरी १ मा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले निर्वाचन हारेका थिए।
महोत्तरी १ को निर्वाचन परिणाम आएसँगै महोत्तरीका चारवटै क्षेत्रबाट एमालेको महाधिवेशन प्रतिनिधि छनाेट सकिएको छ।
महोत्तरी १ र ४ मा निर्वाचनबाट र ३ र २ मा सहमतीबाट प्रतिनिधि छनोट भएका हुन्।
महोत्तरी ४ मा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले मनोमानी ढंगले सबै आफूनिकटका सबै प्रतिनिधि छानेको भनेर इतर खेमाले बिरोध गर्दै आएको छ।



