बारा, मंसिर १४ गते । बारामा पानी उद्योगका व्यवस्थापकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका(२२ मनियारी बस्ने २१ वर्षीय राजनकुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह रहेका छन् ।
१२ मंसिरमा सर्लाहीको धनकौल गाउँपालिका(२ घर भई बाराको पर्सौनी गाउँपालिका(६ भलुही चोकमा रहेको किरण वेभरेज प्रालिका व्यवस्थापक रामकिशोर सिंहको हत्या गरिएको अवस्थामा उद्योग नजिकैको खोल्सामा शव भेटिएको थियो । प्रहरीका अनुसार सिंह हत्याका मुख्य योजनाकार राजन पानी सोही उद्योगमा सवारी चालकका रूपमा काम गर्थे ।
उद्योगका व्यवस्थापक सिंहसँग पटक–पटक राजनले विवाद गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एक वर्षअघि गढीमाईको मेलाका बेला गाडीको कलज प्लेट जलेको विषयमा उनीहरूबीच विवाद भएको थियो ।
राजनले चलाउने गाडीको कलज प्लेट जलेपछि सिंहले उनलाई गाली गरेका थिए । त्यही झोकमा रामले उद्योगमा काम छाडेका थिए । करिब एक वर्षपछि गत १ कात्तिकदेखि उनी फेरि काममा फर्किएका थिए ।
उद्योगले तोकेको भन्दा बढी मूल्य लिएर पानी बेच्ने गरेको थाहा पाएपछि सिंहले राजनलाई १० मंसिरदेखि कामबाट निकालेका थिए । कामबाट निकालेको झोकमा उनले ११ मंसिर साँझ वीरगञ्जमा प्रमोदसँग बसेर मदिरा पिउँदै हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सँगै मदिरा पिएपछि राजन र प्रमोदले वीरगञ्जबाटै घरेलु हतियार ल्याई उद्योगभित्रै सिंहको हत्या गरेको खुलेको छ ।
‘वीरगञ्जबाटै ल्याएको धारिलो हतियार छुरा र ईंट्टा प्रयोग गरी हत्या भएको देखिन्छ,’ बारा प्रहरीले भनेको छ । घटनामा संलग्न अभियुक्तहरू भारततर्फ भाग्ने तयारीमा रहेका बेला पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पर्साको भिस्वा नाकाबाट भारततर्फ भाग्न लागेको अवस्थामा छिपहरमाई गाउँपालिका-५ बाट मुख्य योजनाकार राजनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न अर्का अभियुक्त प्रमोद भने वीरगञ्ज महानगरपालिका-२२ बाट पक्राउ परेका हुन् । ‘पर्सा प्रहरीको समन्वयमा घटना भएको १६ घण्टाभित्रै अभियुक्तहरू पक्राउ गर्न सफल भएका छौं,’ जिल्ला प्रहरी कार्यालय बाराका निमित सूचना अधिकारी प्रहरी नीरिक्षक खेमप्रसाद नेपालले भने ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत बाराबाट कर्तव्य ज्यान कसुर मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ । सर्लाही धनकौल गाउँपालिका(२ घर भई पर्सौनीस्थित उक्त पानी उद्योगमा व्यवस्थापकका रूपमा कार्यरत सिंहको शव हत्या गरिएको अवस्थामा १२ मंसिर बिहान उद्योग नजिकैको खोल्सामा भेटिएको थियो ।- अनलाइनखबर



