काठमाडौँ, कार्तिक १३ गते । मधेश प्रदेशको सामुदायिक शिक्षा सुधारका लागि विज्ञ अध्ययन टोली गठन हुने भएको छ।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मधेशमा खस्केको सामुदायिक शिक्षाको सुधारका लागि अध्ययन गरि यथाशीघ्र रिपोर्ट पेश गर्न मधेश प्रदेशकै राजनीतिक दल र विज्ञहरूको टोली गठन गर्ने जानकारी दिएका हुन्।
उनका अनुसार मधेश प्रदेशका ८ वटै जिल्लाहरू अहिलेसम्म साक्षर जिल्ला भनेर घोषणा गरिएका छैनन्। कर्णाली प्रदेशको २ जिल्लाबाहेक नेपालका अरू सबै जिल्लाहरू साक्षर घोषणा भइसकेका छन्।
उनले आज सामाजिक सञ्जालबाट भनेका छन्, ‘मधेश जस्तो सुगम ठाउँमा पनि किन यस्तो भयो र मधेशमा खस्केको सामुदायिक शिक्षाको सुधार गर्न के-के गर्नुपर्ला भनेर अध्ययन गरि यथाशीघ्र रिपोर्ट पेश गर्न मधेश प्रदेश कै राजनीतिक दल र विज्ञहरूको टोली गठन गर्दैछु।’



