काठमाडौँ, कार्तिक १२ गते । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण हाल देशभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका केही स्थानमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षासहित हिमपात भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
मौसम विभागका अनुसार बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ। साथै, कोशी, बागमती र मधेश प्रदेशका महाभारत तथा चुरे क्षेत्रका स–साना नदी–नालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।
संभावित वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, पहिरो, सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने चेतावनी विभागले दिएको छ।



