अरुण साह
जनकपुरधाम, कार्तिक ११ गते । तेह्रौँ वनदेवी माई अध्यक्ष गोल्ड कप २०८२ को उपाधि वीरगञ्ज युनाइटेड पर्साले जितेका छन्।
बटेश्वर गाउँपालिका-२ खोरिया स्थित तेह्रौँवनदेवी माई अध्यक्ष गोल्ड कप २०८२ को फाइनल खेल वीरगञ्ज युनाइटेड पर्साले जितेको हो।
मंगलबार वनदेवी माई क्लबको खेल मैदानमा जनसेवी फुटबल क्लब बर्दिबास र वीरगञ्ज युनाइटेड पर्सा बीच भएको रोमाञ्चक खेल पेनाल्टीमा एक गोलले पर्साले जितेको हो।
जनसेवी फुटबल क्लब बर्दिबासले सुरु गरेको गोल वीरगञ्ज युनाइटेड पर्साले १० मिनेटमै फर्काएपछि बराबरीमा खेल समापन भएको थियो। पेनाल्टीमा बर्दिबास टिम एक गोलले हारेको हो ।
विजेता टिम वीरगञ्ज युनाइटेड पर्सालाई बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अशीष महतो र उपाध्यक्ष फुलकुमारी सिंहले मेडलसहित एक लाख ५५ हजार रुपैयाँको चेक प्रदान गरेका छन्।
उपविजेता टिम जनसेवी फुटबल क्लब बर्दिबासलाई मेडलसहित ५५ हजारको चेक प्रदान गरिएको छ।
वनदेवी माई युवा क्लबका अध्यक्ष नरेन्द्र प्रसाद राईको अध्यक्षतामा आयोजित समापन समारोहमा बटेश्वर गाउँपालिकाका अध्यक्ष राम अशीष महतोले खेलकुदमा पालिकाले बजेट छुट्ट्याएर व्यवस्थित खेल मैदान निर्माण गर्ने अग्रसरता देखाउने बताएका छन।



