महोत्तरी पोस्ट डेस्क
धनुषा, कार्तिक ९ गते। बटेश्वर गाउँपालिका–५ बटेश्वर बजारमा बटेश्वर युवा सञ्जालको आयोजनामा रगत परीक्षण, रगत दान तथा “गाउँपा मन्थन” कार्यक्रम सम्पन्न भएको छ।
सञ्जालले विगत सात वर्षदेखि निरन्तर रूपमा चाडपर्वको बीचमा गाउँ फर्केका कर्मचारी, विद्यार्थी र विदेशमा बस्ने युवाहरूलाई एकै ठाउँमा जोड्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यस वर्ष पनि सो परम्परालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।
कार्यक्रम तीन संस्करणमा सम्पन्न भएको थियो। पहिलो संस्करण “लोकसेवामा बटेश्वरका युवाका चुनौती, अवसर र सम्भावना” विषयमा केन्द्रित थियो। सहजकर्ताको रूपमा शिक्षक दीपेन्द्र महतो रहेका थिए भने वक्ता राम प्रगस महतो (सह–सचिव, नेपाल सरकार), यमन सुन्दर श्रेष्ठ (शाखा अधिकृत, नेपाल सरकार) र सुरेश साह (खरिदार) थिए। वक्ताहरूले लोकसेवाको यात्राबारे अनुभव बाँड्दै आगामी पुस्तालाई धैर्य र तयारीका साथ प्रतिस्पर्धामा लाग्न प्रेरणा दिए।
दोस्रो संस्करण “बटेश्वरको शिक्षाको अवस्था र चुनौती” विषयमा केन्द्रित रह्यो। सहजकर्ताको रूपमा शिक्षक हरिनारायण महतो थिए। वक्तामा राम सकल महतो (प्रधानाध्यापक, जनता मावि गौरीडाँडा), राम लाल महतो (शिक्षा अधिकृत, बटेश्वर गाउँपालिका), लक्ष्मी महतो (प्रधानाध्यापक) र प्रकाश निरौला (शिक्षक तथा समाजसेवी) सहभागी थिए। वक्ताहरूले बटेश्वरमा शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकसँगै नागरिक समाजको पनि सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए।
तेस्रो संस्करण “किसानका चुनौती, अवसर र आर्थिक सम्भावना” विषयमा केन्द्रित थियो। सहजकर्ताको रूपमा कृषि इञ्जिनियर उदय ठाकुर रहेका थिए। वक्तामा रेखा कुमारी महतो (कृषक तथा महिला नेतृ), गणेश साह (कृषि फर्म सञ्चालक), सत्रुधन महतो (कृषि विद्यार्थी) र शिवकरण यादव (वडा अध्यक्ष) थिए। वक्ताहरूले बटेश्वरमा सिँचाइ अभावका कारण कृषि उत्पादनमा कठिनाइ रहेको उल्लेख गर्दै समस्या समाधानका लागि दिगो योजना आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा फुलगेन मगही, अजय कुमार राउत र शैलेन्द्र क्रान्तिले क्रमशः समाज, संस्कृति र बटेश्वरको राजनीतिक अवस्थाबारे मन्तव्य राखेका थिए।
कार्यक्रमको समापन गर्दै बटेश्वर युवा सञ्जालका अध्यक्ष सरोज कुमार महतोले नियमित रूपमा प्रत्येक ९० दिनमा रगत दान गर्न सहभागीहरूलाई आग्रह गर्दै सबै अतिथिप्रति धन्यवाद ज्ञापन गरेका थिए।



